सम्पन्न भयो छायाँछवि काव्य श्रृंखलाको तेस्रो सिलसिला
छायाँछवि क्रियशनको आयोजनामा छायाँछवि काव्य
श्रृंखलाको तेस्रो सिलसिला सम्पन्न भएको छ । विहिबार बागबजारको
सिटिम्याक्समा नेपाली चलचित्र जगतमा हाँस्य सम्राज्ञीको उपमा
पाएकी बसुन्धरा भूषाल एवं प्रसिद्ध गीतकार कृष्णहरी बरालको विशेष
आतिथ्यतामा छायाँछविले तेस्रो काव्य श्रृंखला सम्पन्न गरेको हो ।
छायाँछवि काव्य श्रृंखलाकी संयोजक एवं मुक्तककार रश्मि रोदनको
मुक्तक बाचनबाट कार्यक्रम शुरु भएको थियो । संयोजक रश्मि रोदनले
कार्यक्रमबारे प्रकाश पार्दै उपस्थित साहित्यकार एवं चलचित्र तथा
संगीतकर्मीलाई स्वागत गरेकी थिइन् ।
छायाँछवि क्रियशनका अध्यक्ष
शान्तिप्रियले कार्यक्रमबारे प्रकाश पारे । मन्तव्य राख्दै शान्तिप्रियले
साहित्य, संगीत र चलचित्रको त्रीवेणीलाई एकीकृत गराउने प्रयास
स्वरुप आयोजना गरिदै आएको बताए ।
कार्यक्रमको यस श्रृंखलामा अढाई दशकदेखि साहित्यमा क्रियाशिल
रहदै आएका गोरखापत्र संस्थानका महाप्रवन्धक एवं कवि बसन्त
प्रकाशले कविता बाचन गरेका थिए भने गजलकार शान्ति शर्माले
गजलहरु सुनाएकी थिइन् । वाचन गरिएका श्रष्टाका श्रृजनामाथी
विशेष अतिथी कृष्णहरि बरालले समिक्षा गरेका थिए । साथै
कार्यक्रमको आयोजना आफूलाई निकै मन परेको एवं छायाँछविले
उत्कृष्ट कार्य गरेको टिप्पणी गरेका थिए । त्यस्तै कार्यक्रमकी विशेष
अतिथी चलचित्र अभिनेत्री बसुन्धरा भूषालले आफू यस्तोखाले
लोकप्रिय साहित्यिक कार्यक्रममा आउन पाएकोमा खुशी व्यक्त गरेकी
थिइन् । कार्यक्रमका श्रष्टाद्वय बसन्त प्रकाश उपाध्यय र शान्ति
शर्माले आफूलाई तेस्रो सिलसिलामा चयन गरिएकोमा आभार व्यक्त
गरेका थिए । कार्यक्रमकी संयोजक रश्मि रोदनले छायाँछवि काव्य
श्रृंखलाको चौथो श्रृंखला आगामी माघ १६ मा गरिने बताइन् ।








No comments: